LATEST NEWS

एउटै व्यक्तिले दुईवटा नागरिकता बनाएको खुलासा

Posted by Unknown ~ Tuesday, March 31, 2015



गोरखा, चैत १७– बेग्लाबेग्लै नाममा एक सेवाग्राहीले दुईवटा नागरिकता लिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट नियम विपरीत मान्वु गाविस–३ का एक व्यक्तिले फरक नाममा दुई नागरिकता लिएका हुन् । प्रेमबहादुर नगरकोटी श्रेष्ठ र मिलन नगरकोटी श्रेष्ठको नाममा नागरिकता बनेको उल्लेखसहित कार्यालयमा उजुरी परेको छ । २०६५ माघ १३ गते प्रेमबहादुर नगरकोटी श्रेष्ठ नाममा नागरिकता बनाएका ती सेवाग्राहीले पुनः २०६७ वैशाख ३ गते अर्को मिलन नगरकोटी श्रेष्ठ नाममा नागरिकता बनाएको देखिन्छ । 

स्रोतका अनुसार दुईवटा नागरिकता लिएका ती सेवाग्राहीका आफन्तले छानबिन गरी कारबाही गर्न प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । पारिवारिक सम्बन्धमा खटपट आएपछि दुईवटा नागरिकता लिएको भन्ने उजुरी परेको हो । कार्यालयका मुद्दा फाँटका कर्मचारी सीताराम गिरीका अनुसार दुईवटा नागरिकता लिएको सम्बन्धी उजुरी मुद्दा फाँटमा दर्ता भए पनि आवश्यक अनुसन्धान सुरु गरिएको छैन । “उजुरी दर्ता भएको छ”, गिरीले भने, “उजुरीसम्बन्धी जानकारी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी समक्ष पठाएको पनि छैन ।” 

ती सेवाग्राहीले नाम फरक राखेर बनाएका दुवै नागरिकतामा बाबुको नाम शान्तबहादुर नगरकोटी श्रेष्ठ उल्लेख छ । “नाम फरक–फरक भेटियो”, उनले भने, “तर दुवै नागरिकतामा बाबुको नाम शान्तबहादुर नगरकोटी नै लेखिएको छ ।” के कारणले ती सेवाग्राहीले दुईवटा नागरिकता लिए भन्ने सम्बन्धमा अनुसन्धानपछि मात्रै भन्न सकिने कार्यालयका कर्मचारीले बताएका छन् । स्रोतका अनुसार फरक नाममा दुईवटा नागरिकता बनाउने ती व्यक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । 

 उनको नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारीहरू कमलमणि काफ्ले र ईश्वरनारायण पाण्डेले हस्ताक्षर गर्नुभएको छ । एउटै नागरिकले झुठा विवरण पेस गरेर दुईवटा नागरिकता लिएको पुष्टि भएमा नागरिकता ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले जानकारी दिए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply