बलात्कारमा परेकी युवतीद्वारा आत्महत्या
चितवन, चैत १५–केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन् । चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिए ।
बलात्कारपछि विक्षिप्त भएकी उनले त्यसैको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने दाजु एकबहादुरले बताए । आज जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा आएका बेला पत्रकारसँग कुरा गर्दै उनले बलात्कारको पीडा सहन नसकेर बहिनीले आत्महत्या गरेको दाबी गरे ।
पीडित परिवारले गोरखा घर भएका २९ वर्षीय महादेव कटुवालले पोखरामा बोलाएर बहिनीलाई बलात्कार गरेको आरोप लगाएका छन् । सोही आरोपमा प्रहरीले कटुवाललाई पोखराबाट पक्राउ गरेको बताइएको छ ।

No comments: