चट्याङ लागेर एकको मृत्यु, चार घाइते
प्यूठान,चैत १४ – चट्याङ लागेर प्यूठान जिल्ला नारिकोट–८ मा एक बालिकाको ज्यान गएको छ ।जिल्लाको नारिकोट–८ स्थित धनमुढा निवासी नौ वर्षीया बालिका राधिका सुनारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।चट्याङ लागेर स्थानीय चारजना घाइते छन् । घाइतेहरुको उपचार हुन सकेको छैन । घाइते हुनेमा २२ वर्षका सुकमारी सुनार र लक्ष्मी विक, १६ वर्षका केयरसिंह सुनार र १८ वर्षीया पुष्पा सुनार हुन् ।
घरमा महिला र केटाकेटीमात्र भएकाले उनीहरुको आर्थिक अभावका कारण उपचार गराउन नसकिएको स्थानीयले गुनासो गरेका छन् ।
चट्याङ लागेरै स्थानीय नरबहादुर कँुवरको एउटा गाई मरेको छ भने लक्ष्मण सुनारको घर चर्केको छ । चट्याङले यो ठाउँमा यसअघि पनि क्षति पु¥याएको थियो ।

No comments: