LATEST NEWS

मर्मत–सम्भार कुमारित्वको

Posted by Nepali Blogger ~ Saturday, July 25, 2015

यतिबेला काठमाडौं उपत्यकामा एक नयाँ धन्दा सुरु भएको छ– कुमारित्व गुमाएका महिलालाई पुनः कुमारी बनाइदिने अर्थात् कुमारित्व फर्काइदिने । यो धन्दा उपत्यकाका केही अस्पतालमा चलिरहेको छ । र, यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी बन्ने आशामा धाइरहेका छन् । र, यसप्रति महिलाहरूको आकर्षण निकै बढेको भन्ठानेर केही अस्पताल र निजी क्लिनिकले कमाउधन्दा सुरु गरेका छन् : कुमारित्वको मर्मत–सम्भार गरेर । 










के हो कुमारित्व ? 

नेपाली शब्दकोषले आठ वर्ष पूरा गरेकी र १२ वर्ष उमेर नकाटेकी छोरीलाई कुमारी भनेको छ । तर, शब्दकोषमा कुमारित्वको शब्दार्थ स्पष्ट नलेखिए पनि अंग्रेजी शब्दको भर्जिनिटी नै नेपालीमा कुमारित्व हो भन्ने बुझिन्छ । जसको अर्थ महिलाहरूको योनिमा हुने झिल्ली अर्थात् हाइमिन दुरुस्त रहनु हो । अंग्रेजी होस् वा नेपाली परिवेश, कुमारित्वलाई शारीरिक सम्बन्ध नराखेकी स्त्री भन्ने सामान्य अर्थ लगाइन्छ । 

स्वास्थ्य विज्ञानले महिलाको योनिमा हुने झिल्ली अर्थात् हाइमिन नटुटेमा त्यसलाई कुमारित्व अर्थात् भर्जिनिटी रहेको भन्ने बुझाउँछ । सामान्यतः कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेपछि हाइमिन अर्थात् झिल्ली च्यातिन्छ र त्यसपछि कुमारित्व गुमेको बताइन्छ । तर, कुमारित्व गुम्नमा शारीरिक सम्बन्ध नै हुनुपर्छ भन्ने होइन । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमका अनुसार शारीरिक सम्बन्धबाहेक, जिम्न्यास्टिक खेलाडी, साइकल चढ्ने युवती आदिमा हाइमिन च्यातिएको पाइएको छ । 

कुमारित्वका नाममा के भइरहेको छ ? 

संसारभर विवाहपूर्व पनि यौन सम्बन्ध राख्नेहरूको संख्या पछिल्लो समय धेरै छ । प्रेममा परेर वा अन्य कारणले पनि विवाहपूर्व यौन सम्बन्ध राख्नेदेखि लिभिङ टुगेदर बस्ने महिला र पुरुषको संख्या दिनानुदिन बढिरहेको छ । तर, जुन पुरुषसँग संसर्ग भयो, त्यो पुरुषसँग विवाह हुन नसकेको उदाहरण पनि धेरै छ । जसकारण अविवाहित स्त्रीहरू विवाहपछिको आफ्नो पारिवारिक सुखबारे धेरै चिन्तित हुने गरेका छन् । आफ्नो कुमारित्व गुमेको श्रीमान्ले थाहा पाएर आफूलाई हेला गर्ने हो कि भन्ने चिन्ता धेरै महिलामा हुने गरेको चिकित्सक बताउँछन् । जसकारण उनीहरूलाई कुमारित्व फर्काउन सकिन्छ भन्ने आश्वासन दिनु एक ठूलो अपेक्षा र महत्त्वाकांक्षाको विषय हो र महिलाहरू अचेल यसैको आकर्षण र हल्लामा फसेका छन् । 

अहिले दैनिक पत्रिकामा यौन सन्तुष्टिसँग सम्बन्धित धेरै विज्ञापन छापिइरहेका हुन्छन् । त्यही विज्ञापनका भरमा केही महिला त्यस्ता औषधि पाइने पसलमा पुग्छन् र आफ्नो गुनासो सुनाउँछन् । अनि त्यस्ता औषधि बेच्ने व्यक्तिले त्यस्ता महिलालाई एउटा भ्रम छरिदिन्छन् कि गुमेको कुमारित्व फेरि पनि फर्काउन सकिन्छ । यस्ता दलालका पछि लागेर महिला केही निजी अस्पताल पुग्छन् र कुमारित्व फर्काउन भन्दै योनिको मर्मत–सम्भार अर्थात् सिलाई गर्छन् । 

के हो योनिको मर्मत अर्थात् भेजाइनल रिपेरिङ ? 

स्वास्थ्य विज्ञानका अनुसार बच्चा जन्माउँदा महिलाको योनि च्यातिन्छ र त्यसपछि पिसाबथैली र मलद्वार पनि खस्न सक्छ । यस्तो अवस्थामा योनिमर्मत अर्थात् भेजाइनल रिपेरिङ अनिवार्य हुन्छ र त्यो गर्नैपर्छ । यस्तो गर्दा खासै खर्च पनि हुँदैन र यो कुनै मेजर अपरेसन पनि होइन । त्यस्तै, तीन–चारवटा बच्चा जन्माइसकेपछि महिलाको योनिको आकार बढ्न सक्छ र आफ्ना यौन साथीसँगको संसर्गमा पूर्ण सन्तुष्टि नहुन पनि सक्छ । यस्तो अवस्थामा महिलाले आग्रह गरेको खण्डमा पनि मान्यताप्राप्त डाक्टरले भेजाइनल रिपेरिङ गर्ने गरेका छन्, जुन सामान्य प्रक्रिया भएको बताउँछन्, ओम अस्प्तालका निर्देशक डाक्टर भोला रिजाल । 

कुन वर्गका महिला यस्तो गर्दै छन् ? 

सामान्य अवस्थामा योनिको मर्मत–सम्भार गर्दा करिब २५ हजार खर्च हुन्छ । सामान्य अवस्था भन्नाले बच्चा जन्माउँदा योनि च्यातिने भन्ने हो । तर, विवाह नगरेका महिलादेखि यौन सन्तुष्टि पाउन नसकिएको भन्दै अहिले ७५ हजारसम्म शुल्क लिएर भेजाइनल रिपेरिङ गरिँदै छ, काठमाडौं सहरमा । यसमा मुख्यतः सहर–बजारका धनाढ्य विवाहित महिला र अविवाहित युवतीले यौन सन्तुष्टिका लागि भेजाइनल रिपेरिङ गरिरहेको तथ्य बाहिर आएको छ । 

त्यस्तै, श्रीमान विदेशमा काम गर्न गएका छन् र श्रीमती नेपालमा छिन् । तर, नेपालमा उनको अर्कै यौन साथीसँग शारीरिक सम्बन्ध छ भने यस्तो अवस्थामा श्रीमान् नेपाल फर्कंदाताका श्रीमतीले भेजाइनल रिपेरिङ गरेको पाइएको छ । त्यसैगरी व्यावसायिक यौनकर्मी महिलाले पनि भेजाइनल रिपेरिङ गर्ने गरेको पाइएको छ । त्योबाहेक तीन–चारवटा बच्चा जन्माएका महिलाले त भेजाइनल रिपेरिङ गर्ने गरेका बताउँछन्, प्रसूतिगृहका निर्देशक डाक्टर जागेश्वर गौतम र ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल । 

कहाँ–कहाँ गरिन्छ यो धन्दा ? 

उपत्यकाका ठूला भनिएका अस्पतालदेखि स–साना पोलिक्लिनिकले पनि ‘भर्जिन’ बनाउने धन्दा चलाइरहेका छन् । उपत्यकामा नाम चलेका अस्पतालहरू काठमाडौं अस्पताल त्रिपुरेश्वर, ग्रान्डी धापासी, केएमसी सिनामंगल, ओम अस्पताल, चावहिल, मनमोहन अस्पताल छाउनी, अल्का अस्पताल जावलाखेललगायतले यस्तो सेवा दिइरहेका छन् । त्योबाहेक डाक्टर ज्योति अग्रवाल क्लिनिक, भ्याली मेटरनिटी क्लिनिकलगायत साना पोलिक्लिनिकले पनि यस्तो धन्दा चलाइरहेका छन् । 

हुन त यी अस्पतालले बच्चा जन्माइसकेका महिलाको मात्रै भेजाइनल रिपेरिङ गर्ने गरेको दाबी गरेका छन् । तर, यी अस्पतालमा बच्चा नै नजन्माएका युवतीको समेत यस प्रकृतिको अप्रेसन भएको तथ्य बाहिर आएका छन् । अझ पछिल्ला दिनमा काठमाडौं अस्पताल र ग्रान्डी अस्प्तालमा त हङकङबाट समेत यस्तो अप्रेसन गर्न महिला आउने गरेको बताउँछिन्, काठमाडौं अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर चन्द्रशोभा अमात्य । यस्तो अप्रेसनका लागि काठमाडौं अस्पताल र ग्रान्डी अस्पतालले प्रतिव्यक्ति ७५ हजार रुपैयाँसम्म पैसा लिने गरेको भेटिएको छ । 

यसरी काठमाडौं सहरमा कुमारित्व फर्काउने वा यौन सन्तुष्टि बढाउन आफूखुसी यौनांग सिलाउने धन्दा चलेको छ । जब कि धेरै बच्चा जन्मिएपछि शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गरेर गरिनुपर्ने यस्तो अप्रेसन तथाकथित भर्जिन वा कुमारित्वसँग जोडेर विकृत बनाइँदै छ । र, यस्तो धन्दामा सहरका युवतीको आकर्षण बढेको साथै व्यावसायिक यौन सम्पर्कको धन्दा बढेको पाइएको चिकित्सकले बताएका छन् । 

के सम्भव छ भर्जिनिटी फर्काउन ? 

उपत्यकाका अस्पताल र निजी स्वास्थ्य संस्थाहरूले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भन्दै धन्दा चलाइरहेका छन्, जुन गैरकानुनी र अनैतिक धन्दा हो । पहिलो कुरा त महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने बताउँछन्, स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजाल र जागेश्वर गौतम । तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । छिमेकी देशहरूमा ‘हाइमिन रिपेरिङ’ हुने भए पनि नेपालमा भने त्यस्तो सेवा दिने कुनै पनि अस्पताल छैन । तर पनि नेपालका ठूला भनिएका केही अस्पताल र क्लिनिकहरूले ‘भर्जिन’ बनाउने भन्दै महिलाहरूको प्रजनन् अंग सिलाउन थालेका छन् । 

अहिले योनि सिलाएर फेरि भर्जिन बन्न अविवाहित युवतीदेखि आमा भएकाहरू पनि यस्ता धन्दा चलाउने अस्पताल र क्लिनिकहरूमा धाउन थालेका छन् । डाक्टरको काम महिलाहरूको प्रजजन अंगमा कुनै समस्या भए वा कुनै कारणले योनिको आकारमा परिवर्तन भए त्यस्तो सेवा दिने हो । तर, अहिले डाक्टरहरूले केही रकम पाउने आशमा र महिलाहरू फेरि कुमारी बन्ने दौडमा धमाधम योनि सिलाउने व्यापार र लहड बढेको छ । 

नैतिक कि अनैतिक ? 

प्रसूति गृह अस्पतालका निर्देशक जागेश्वर गौतम र ओम अस्पतालका निर्देशक डाक्टर भोला रिजाल भन्छन्, भर्जिन बन्न योनि सिलाउनु अनैतिक हो । आवश्यक पर्दा भेजाइनल रिपेरिङ सामान्य कुरा भए पनि अहिले विवाह नै नभएका युवतीले पनि यस्तो मर्मत गराइरहेको जानकारी पाएको भन्दै अनैतिक धन्दा रोक्न सरकारले पहल गर्नुपर्ने उनीहरूको राय छ । 

अहिले यस्तो धन्दा बढ्नुको मुख्य कारण भने पत्रपत्रिकामा छापिने यौन सन्तुष्टिसँग सम्बन्धित विज्ञापन नै हुन् । सुरुमा महिला र पुरुषहरू पनि यौन सन्तुष्टि बढाउने साधन बेच्ने पसलहरूमा पुग्ने गर्छन् । त्यसपछि उनीहरू त्यही पसलेको च्यानलबाट डाक्टरको क्लिनिक वा अस्पतालमा पुग्छन् र योनिको मर्मत–सम्भार गर्छन् । अनि, आफू फेरि कुमारी बनेको कल्पना गर्छन् । तर यथार्थमा नेपालमा हाइमिन रिपेरिङ नै हुँदैन र योनिको तेस्रो भाग र पहिलो भाग सिलाउने मात्रै गरिन्छ । यसरी भर्जिन बनाइदिने भन्दै केही स्वास्थ्य संस्थाले धन्दा चलाइरहँदा पनि सरकारी संयन्त्र भने थाहा नपाएझैँ बसिरहेको छ । प्रसूति गृहका डाइरेक्टर गौतम भन्छन्, ‘यस्तो धन्दा ठगी र झुटको खेतीबाहेक अरू केही होइन ।’ 

यसरी सहरमा मानिसलाई दिग्भ्रमित गरेर ठगी धन्दा चलाउनेहरू बढेका छन् । हुनै नसक्ने अप्रेसन गर्ने भन्दै यस्ता धन्दा चलाउनेलाई कारबाही गर्नैपर्छ । पेसागत मर्यादा नाघ्ने डाक्टर र अनैतिक धन्दा गर्ने क्लिनिक वा अस्पताल सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ ।

हेर्नुहोस भिडियो

Categories
Tags

Related Posts

No comments:

Leave a Reply