एमाओवादी नेता न्यौपाने मृत भेटिए
बनेपा, चैत १७ – एनेकपा (माओवादी) काभ्रेका जिल्लास्तरीय नेता तथा पूर्वलडाकु पदमकेशर न्यौपाने आज बनेपामा मृत अवस्थामा फेला परेका छन् । एमाओवादीको लाठी जुलुसमा सहभागी हुन सोमबार बनेपा आएका काभ्रेपलाञ्चोकको गौरी बिसौना देउपुर–३ निवासी न्यौपाने बनेपास्थित वेलकम गेष्ट हाउसमा बास बसेका थिए ।
होटलको १०९ नम्बर कोठामा एक्लै बसेका न्यौपानेको कोठाबाट सिग्नेचर नामको मदिरा, खानेपानीको बोतल र कीटनाशक औषधिसमेत बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए । उनका एक छोरा र एक छोरी छन् । एमाओवादी जिल्ला परिषद् सदस्यसमेत रहेका न्यौपानेका बारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्र विस्तृत कुरा खुल्ने प्रहरी निरीक्षक भारतीले बताए ।

No comments: