LATEST NEWS

हाउसमेड' केन्द्रमा एक साँझ जहाँ महिला कामदारको मोलमोलाइ हुन्छ

Posted by Anonymous ~ Saturday, March 28, 2015

  

कुबेत, चैत्र १४ - यो कुबेतको एउटा केन्द्रको कथा हो, जहाँ हाउसमेड(घरेलु कामदार) का रुपमा त्यहाँ पुगेका महिलाको मोलमोलाइ हुन्छ । नेपाली, श्रीलंकाली, फिलिपिनो र अरु देशका महिला कामदार को बिक्री हुने केन्द्र कस्तोछ ? त्यहाँ पुगेका संवाददाताको वर्णनः १८ मार्चको साँझ सात बजे कुबेत अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ । घरेलु कामदार (हाउसमेड) बन्न कुबेत पुगेका नेपाली दिदीबहिनीको अवस्था बुझ्न म त्यहाँ गएको थिएँ । जहाजबाट ओर्लिर्नेबित्तिकै अध्यागमनतिर लागें । हाउसमेडको लाइन लामै रहेछ । भए जति सबै काउन्टरमा हाउसमेडहरू थिए, धेरैजसो फिलिपिन्स, श्रीलंका र भारतबाट आएका । नेपालीहरू भने देखिनँ, सायद चिन्न सकिनँ कि १ सबैको अनुहार थाकेको देखिन्थ्यो ।म पनि लाइनमा मिसिएँ, अगाडि १० जना जति थिए । कसैसँग बोल्ने अवस्था थिएन । भिसा र राहदानी हुनेबित्तिकै अध्यागमनले कुबेत छिर्न अनुमति दिइहाल्छ भन्नेमा म ढुक्क थिइनँ । किनकि यसअघि विमानस्थलबाटै र्फकनुपरेको थियो । योपटक पनि कतारबाट उड्दा कुबेत एयरवेजले निकै सोधखोज गरेको थियो । तर त्यतिखेर मन प्रफुल्ल भयो, जतिखेर अध्यगमनका अधिकारीले राहदानीमा छाप लगाइदिए । बाहिरिएपछि पनि ती महिलाहरूसँग बोल्न सकिएन । ती सबैलाई उनीहरूका 'स्पोन्सर' वा 'एजेन्ट' ले लिएर गए ।विमानस्थलमा पुराना चिनजानका विदेशी मित्र लिन आइपुगेका थिए । उनले हाउसमेडकै कारोबार गर्ने उनका एक इजिप्सियन मित्रसँग चिनाए । 'यो नेपालको एकदमै मिल्ने साथी हो । कुबेत घुम्न आएको,' मेरा मित्रले अरबीमा चिनाए, 'पाँच दिन बसेर फर्किन्छ ।' ती इजिप्सियनले यो काम गर्न थालेको १० वर्षभन्दा बढी भइसकेको रहेछ । मेरो साथीले उनलाई सोधे, 'एक दिन तिमीले समय दिनुपर्छ । आज ५/७ घन्टा तिमीसँग हिँड्न मिल्छ ?' इजिप्सियनले तुरुन्तै जवाफ दिए, 'दिउँसो समय छ । तर बेलुका अफिसमा काम गर्नुपर्छ ।'हाउसमेडबारे जानकारी लिन ती इजिप्सियन गतिलो माध्यम हुने ठानेर मैले उनबाट धेरै जानकारी लिन चाहें । दिउँसो सामान्य घुमफिर भयो । बेलुका तीन बजेतिर ऊ बिदा हुन खोज्दा मैले छाडिनँ । भनें, 'अब घुम्न जान मन लागेन । फेरि अरू साथीभाइ पनि छैनन् । अप्ठ्यारो पर्दैन भने तिम्रो कार्यालय जान्छु ।' उसले एकछिन सोचेर सहमति जनायो । 'हाउसमेडलाई राखिने ठाउँमा गएर उनीहरूलाई कार्यालय लैजानुपर्छ,' उनले भने, 'पहिला त्यता जाऔं ।'एउटा १४ तले घरको ५ औं तलामा हाउसमेडलाई राखिएको रहेछ । ऊ गएर ढोका खोल्यो । त्यहाँ दुइटा कोठा रहेछन् । फिलिपिनोलाई मात्रै राख्ने एउटा र अरूलाई राख्ने अर्को सानो कोठा । भित्ताभरि ठाउँ ठाउँमा कालो पोतेको थियो । 'खराब हाउसमेडहरूले यहाँ बस्नु ठीक छैन, भाग्ने हो भनेर लेखेका थिए । कालोले मेटाइदिएको हो,' उनले भने । त्यहाँ फिलिपिनो, श्रीलंकाली, इजिप्सियन र भारतीय गरी १० जना रहेछन् । 'तिमीहरू अझै तयार भएका छैनौ,' उनले गाली गर्दै भने, 'सबै आआफ्नो सामान (लगेज) बोकेर निस्किहाल ।' त्योभन्दा अगाडि एउटा समूहलाई कार्यालय लागिसकेको उनले बताए ।कुबेतको राजधानी कुबेत सिटी नजिक हबेली भन्ने सहर छ । हबेलीको मुख्य सडक नजिकै एउटा ठूलो भवनको छिँडीमा पुगियो । त्यो घरेलु कामदार ल्याउने र बेचबिखन गर्ने मुख्य ठाउँ रहेछ । त्यहाँ २५ भन्दा बढी 'एजेन्सी' का कार्यालय रहेछन् । सबैको भित्र र बाहिर हाउसमेड राखिएका थिए । ती इजिप्सियनले मलाई उनको कार्यालय पुर्‍याए । त्यहाँ ७ जना हाउसमेड थिए । हामीसँग गएका बाँकी १० जनालाई बाहिर राखियो । उनीहरू सबैको साथमा लगेज थियो । हेर्दा लाग्थ्यो, 'यहाँ महिलालाई खरिद बिक्री गर्ने हाटबजार लागिरहेको छ । म ती इजिप्सयनको पछाडि लागेर भित्र गएँ । भित्र तीनवटा टेबुल रहेछन् । तीमध्ये एउटामा श्रीलंकाली, अर्कोमा फिलिपिनो र तेस्राेमा इजिप्सियन बस्दारहेछन् । उनले मलाई साथीहरूसँग परिचय गराए । मलाई बस्न प्लास्टिकको कुर्सी दिइयो । एकापट्टि लस्करै हाउसमेडहरू थिए । अर्कोपट्टि तीनवटा कुर्सी खाली थिए, जुन हाउसमेड किन्न आउनेहरूलाई छुट्याइएको थियो ।त्यसैबीच तीनजना बुर्का लगाएका कुबेती महिला आए । तीमध्येकी एउटीले भनिन्, 'हामीलाई फिलिपिनो चाहिएको छ ।' उनको आवाज भुईंमा र्झन नपाउँदै लस्करबाट फिलिपिनो जुरुक्क उठिन् । अरबीमा ती फिलिपिनोसँग झन्डै दुई मिनेट सोधपुछ भयो । तर तिनीहरूले लगेनन् । पूरै अरबी बोलेकाले उनीहरूबीच भएको कुरा मैले खासै ठम्याइनँ ।एकछिनमा दुई कतारी पुरुष आए । उनीहरूले पनि फिलिपिनो नै खोजे । 'मसँग अहिले पनि एकजना फिलिपिनो छ । उसलाई साथी चाहिएकाले अर्को लिएर जान लागेको हो,' तिनले भने, 'मिल्यो भने लिएर जान्छु ।' उनीहरूबीच तिनै अघिकी फिलिपिनो महिलाको 'रेट' बारे सौदाबाजी चलिरह्यो । त्यसपछि ती कुबेतीले महिलालाई अंग्रेजी आउँछ भन्दै सोधपुछ गरे, 'तिम्रो पढाइ कति हो ? विवाहित हो ?'३७ वर्षीय फिलिपिनो महिलाले प्लस टु पास गरेको बताइन् । 'मैले डिभोर्स गरिसकें,' उनले जवाफ दिइन्, 'मेरा १५, १३ र ७ वर्षका बच्चा छन् ।'उसले लैजाने इच्छा जनाएपछि इजिप्सयन एजेन्टले १२ सय कुबेती डिनार (झन्डै चार लाख रुपैयाँ) तोक्यो । परिवारलाई सोधेर आउँछु भनेर ती कुवेती हिँडे । र, एकछिनमै महँगो भयो भन्दै फर्किए । एउटा भर्खरको जोडी काखे बच्चा च्यापेर भित्र छिर्‍यो । उनीहरूले श्रीलंकाली महिलाको तस्बिरहरू मागे । टेबुलमा बायोडाटासहितका तस्बिरहरूको फाइल थियो । सबै हेरे । कोठामा भएका सबै महिलाको अनुहार नियाले । र, केही नबोली अर्को एजेन्सीमा गए । कुबेतीहरू भित्र छिर्नेबित्तिकै सबै महिला सतर्क हुन्थे । सायद उनीहरूलाई यही सिकाइएको थियो । कसैको अनुहार चम्किलो थिएन । सबै डराइरहेका थिए । कस्तो मालिक/मालिक्नी आउने हो ? कति तलब दिने हो ? आफूलाई कस्तो व्यवहार गर्ने भन्नेमा उनीहरू चिन्तित देखिन्थे । त्यही बेला एउटी कुबेती महिला कराउँदै भित्र छिरिन् । एकछिनपछि हाउसमेडको पोसाक लगाएकी महिला ढोका छेउमा बसिन् । उसलाई देखाउँदै ती महिला एकोहोरो चिच्याइरहेकी थिइन् । अरबी भाषा केही बुझिनँ । ढोकामा बसेकी हाउसमेडको आँखाबाट आँसु झरिरहेको थियो । ओठ काँपिरहेको थियो । अनुहार निकै उदास थियो । एजेन्टले एक हजार डिनार -तीन लाख ३३ हजार रुपैयाँ) फिर्ता दियो । हातबाट खोस्दै ती कुबेती महिला ठूला ठूला आँखा पार्दै गइन् । '१० दिन पनि किन टिक्न नसकेको ?' एजेन्टले उक्त हाउसमेडलाई गाली गर्दै भन्यो, 'अब अर्कोमा जानुपर्छ ।' घानाकी ती महिलाले 'म अब यहाँ काम गर्न सक्दिनँ' भन्दै आफ्नै मुलुक फर्काइदिन अनुनय गरिरहिन् । 'तैंले काम गर्नुपर्छ,' एजेन्टले हप्कायो, 'चुप लागेर बस् ।' यस्तो दृश्य देखिरहेका कुर्सी बसेका हाउसमेडहरू निकै डराइरहेका थिए । 'फी नेपाली' (नेपाली छ) ? एक कुबेती दम्पती भित्र छिर्‍यो । इजिप्सियनले आँखा तेर्साउनेबित्तिकै कुनाबाट एउटी युवती उठिन् । तीन घन्टा बस्दा पनि मैले ती युवतीप्रति ध्यान दिएको रहेनछु । मंगोलियन अनुहार देखिने ती युवती बढीमा २२ वर्ष कटेको हुनुपर्छ । रातो कुर्ता सुरुवाल लगाएकी उनले सलले टाउको छोपेकी थिइन् । 'अरबी आउँछ ?' उनीहरूले सोधे । दुई महिनाअघि कुबेत आएकोले अलि-अलि मात्र आउने उनले बताइन् । त्यसपछि कुबेती महिलाले उनलाई मात्र बाहिर लिएर गएर सोधपुछ गरिन् । भित्र उनका श्रीमान्ले मूल्यबारे सोधपुछ गरिरहे । एजेन्टले ९५० डिनार (झन्डै ३ लाख १६ हजार रुपैयाँ) मूल्य तोक्यो । 'अहिले नेपालबाट हाउसमेड ल्याउन बन्द छ । उसलाई निकै मिहिनेत गरेर ल्याएको हो,' उसले भन्यो, 'हाम्रो निकै खर्च भएको छ । योभन्दा सस्तोमा मिल्दैन ।' छिनमै नेपाली युवती भित्र छिरिन् । कुबेती दम्पतीबीच छलफल भयो । उनीहरू त्यो पैसा तिरेर युवती लैजान राजी भए । इजिप्सयनले ती कुबेतीको परिचयपत्र फोटोकपी गरेर राखे । 'तिम्रो लगेज कता छ ?' उनले नेपाली युवतीलाई सोधे । उनले कुर्सीमुनिबाट लगेज झिकिन् । 'यो घर राम्रो छ । साहु साहुनी इमानदार छन्,' इजिप्सियनले नेपाली युवतीलाई सम्झाए, 'होसियार भएर काम गर्नु । बढी टेलिफोन नगर्नु । तिमीले ६० केडी (१९ हजार ९ सय ८० रुपैयाँ) तलब पाउँछौ ।' युवतीले टाउको मात्रै हल्लाइन् । 'ताल ताल (आऊ आऊ)', भन्दै कुबेती दम्पतीले लिएर गए । लगेज घिसार्दै ती युवती पछि लागिन्, मलिनो अनुहार लिएर । उनको अनुहारमा कुनै खुसी देखिँदैनथ्यो । त्यतिन्जेलसम्म राति ९ बजिसकेको थियो । सबै एन्जेसीहरू बिक्री नभएका हाउसमेड लिएर फकर्ंदै थिए । म पनि ती एजेन्टसँगै बाहिर निस्किएँ । बाहिर मेरो उही मित्र पार्खिबसेको थियो । त्यसपछि निकै बेरसम्म सोचिरहेँ, 'हाम्रा चेलीबेटी कहिलेसम्म यसरी पशुसरह बिक्री भइरहनुपर्ने हो ?'

Categories
Tags

Related Posts

No comments:

Leave a Reply