LATEST NEWS

आफ्नै जन्म दिने अशक्त आमालाई जंगलमा लगेर फालेपछि

Posted by News ~ Thursday, March 5, 2015

सल्यान, फागुन १८ - दार्माकोटमा घर निकाला गरिएकी वृद्धा सल्यानको श्रीनगरमा एक महिनादेखि अलपत्र परेकी छन् ।दार्माकोट गाविस ८ पैयाँडाँडाकी ८१ वर्षीया मनी वलीलाई उनका परिवारले एक महिनाअघि घर निकाला गरेका हुन् । घर निकालापछि जङ्गल र सडकपेटीमा बास बसेकी वली हाल भने शारदा नगरपालिका –२ श्रीनगरस्थित एक महिलासँग बस्दै आएकी छन् । “घर निकाला गरेपछि छोरीको घरमा बस्नुपर्ला भन्ने सोचेकी थिएँ,” पीडित वृद्धाले भनिन्, “छोरीको घर चिन्न सकिन, तीन चार दिन जङ्गलमै बसेँ, कति दिन एक छाक मागेर खाएँ कति छाक भोकै रहेँ । ” उनलाई श्रीनगरकी स्थानीयवासी महिला भुण्टीकुमारी भण्डारीले बजारमा अलपत्र परेको फेला पारेपछि घरमा लगेकी थिइन् । घरनिकाला भएको लामो समयसम्म पनि खान लाउन समेत नपाएकी ती वृद्धा घरबाट खोजबिनसमेत नहुँदा मानसिक रुपमा समेत विक्षिप्त बनेकी छन् । “कसैले खान लाउन दिएका रहेनछन्, दिएकाले पनि मर्न लागेकी बूढी भनेर सडकमा लगेर छाडिदिएछन्” भण्डारीले भनिन् “मैले फेला पारेको बेला सास मात्रै थियो, बिरामी अवस्थामा घरमा ल्याएर राखेकी हुँ ।” उनले आफूले वृद्धालाई घरमा औषधोपचारसमेत गरेको जानकारी दिइन् । वृद्धा यही फागुन ७ गतेदेखि भण्डारीसँग बस्दै आएकी हुन् । “नातिनी बुहारीले सबै कपडा खोलामा लगेर फालिदिई” वृद्धाले भनिन् “का जान्छेस जा भनेर घरबाट निकालेपछि के गर्नू ?” हालसम्म पनि कोही खोज्न नआएको वृद्धाको भनाइ छ । “मसँग भएको सुनका गहना पनि दिएँ, वृद्धभत्ता पनि दिएँ” उनले भनिन्“ हुँदाखादासम्म राम्रै माने तर अहिले घरबाट निकाले” वृद्धाले दुखेसो पोखिन् । घरबाट कोही खोज्न नआएपछि प्रहरीमा उजुरी गरेको भण्डारीले बताइन् । उनका पति ८४ वर्षीय पतु भने घरमै छन् । उनका छोरा भागिरथ स्थानीयस्तरमा धामी भनेर चिनिन्छन् । “उसले गेडा हेरेर यो बूढी एक हप्तामै मर्छे, यसलाई किन पालनपोषण गरेका छौ भनेर छोराले भनेको छ रे” वृद्धाले भनिन् “त्यस्तो घरमा म कसरी फर्केर जान सक्छु ?” उनका नातिले फोन गरेर उनकी आमालाई पालनपोषण गर्नेलाई धम्की दिएको स्थानीयवासी दीपक शाहीले बताए । मानसिक रुपमै पीडित वृद्धाले आफूलाई छोरीको घर पठाइदिन सबैलाई आग्रह गरे पनि उनलाई समेत छोरीको घर थाहा छैन ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply