LATEST NEWS

यसरी थर्काए ज्योति मगरले मलेसिया

Posted by Nepali Blogger ~ Saturday, July 18, 2015

क्वालालम्पुर - हलमा खचाखच दर्शकको अगाडि लोकगायिका ज्योति मगरले ‘मनमा आँट भएको र गोजीमा गाँठ भएको' सोल्टी खोज्न थालिन्। मलेसियाको केलाङमा आयोजित कार्यक्रममा 'जिम्दारी कि छोरी हुँ म जिम्दार कि छोरी' भन्दै मञ्चमा निकै उत्तेजक पहिरनमा पुगेकी मगरलाई दर्शकले ताली र हुटिङ बर्साउन थाले। 'फ्रेन्डसिप धमाका' मा प्रस्तुति लिएर आएका कलाकारमध्ये ज्योतिको गीतमा दर्शक स्टेजमै चढेर नाच्न थालेपछि दर्शक नियन्त्रण गर्न आयोजकलाई अप्ठ्यारो परेको थियो। 



हरिराया अर्थात् इदको अवसर पारेर फ्रेन्डसिप इभेन्ट ग्रुपले आयोजना गरेको कार्यक्रमको पहिलो दिन दर्शक उल्लेख्य थिए। नेपालबाट पुगेका अभिनेत्री करिश्मा मानन्धरदेखि हास्यकलाकार शिवहरि पौडेल र किरण केसीसहितको नेपाली कलाकारको टोलीले मलेसियाका विभिन्न पाँच सहरमा आफ्ना प्रस्तुति दिँदैछन्। कार्यक्रमको पहिलो दिन नृत्यांगना रश्मी तामाङको नृत्यले पनि दर्शकको मन जित्यो। दर्शकले 'वान्स मोर' भन्दै हुटिङ गर्न थालेपछि चारवटा गीतमा नाचिन्। इदको बिदा सुरु भएकै दिन आयोजना भएको कार्यक्रममा कलाकार किरण केसीले गीत सुनाएर मनोरञ्जन दिए। 

उनले करिश्मा मानन्धरसँग रेसम फिलिलिको ‘त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो' बोलको गीतमा पनि नाचे। करिश्माले पनि एउटा गीतमा एकल नृत्य गरिन्। करिश्माले मलेसियाका दर्शकबाट पाएको न्यानो माया कहिल्यै नभुल्ने बताइन्। किरणले शिवहरि पौडेलका साथमा नेपालको सिमाना मिचिएको विषयलाई उठाएर प्रहसनमा प्रस्तुत गरे। गायक कमल खत्रीले करिब पाँचवटा पपगीत गाएर दर्शकलाई मनोरञ्जन दिए। गायकहरू अभिषेक तामाङ र सचिन राईको प्रस्तुति दर्शकले मन पराए। कार्यक्रम सञ्चालन गरिरहेका मोडल विक्की पुलामीले दर्शकदीर्घामा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका थिए। 

मलेसियामा विभिन्न चाडपर्वमा नेपाली कलाकार बोलाएर रमाइला कार्यक्रम सञ्चालन गरिरहेको फ्रेन्डसिप इभेन्टले यसपटकको कार्यक्रमबाट संकलित रकम भूकम्पपीडितलाई सहयोगस्वरूप उपलब्ध गराउने कार्यक्रम संयोजक कृष्ण पुलामीले जानकारी दिए। केलाङबाट सुरु भएको कार्यक्रम जोहरवारु, वातुपहात, इपो र पेनाङमा पनि आयोजना हुँदैछ। मलेसियामा आयोजना हुने अन्य कार्यक्रममा सहभागी हुन पनि नेपालबाट कलाकार आइपुगेका छन्। केलाङमै आयोजना हुने अर्को कार्यक्रममा सहभागी हुन अभिनेत्री नीता ढुंगाना, गायिका मिलन अमात्य, गायक महेन्द्र दहाल र मोडल रञ्जिता लिम्बूसमेत मलेसिया आइपुगेका हुन्। 

त्यस्तै अभिनेता निर्मल सेन्चुरी दुई हप्तादेखि चलचित्र 'मिस्टेक' को विशेष प्रदर्शनको लागि यहाँ छन्। इदको लामो बिदामा नेपाली श्रमिक फुर्सदिला हुन भएकाले मनोरञ्जन दिन विभिन्न आयोजकले कार्यक्रम आयोजना गर्दै आएका छन्।

श्रोत: अन्नपूर्ण पोस्ट

Categories
Tags

Related Posts

No comments:

Leave a Reply