LATEST NEWS

प्रचण्डलाई भारतमा उच्च सुरक्षा

Posted by Nepali Blogger ~ Sunday, July 19, 2015

काठमाण्डु, ३ साउन– भारत भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्यहाँ उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई भारत सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको हो । 



आइतबार भारतको गुजरातमा भूकम्पछिको पुनर्निर्माण अवस्था बुझ्न गएका उनको सुरक्षामा व्यापक कडाइ गरियो । त्यस क्रममा प्रहरीले दुई तिरबाट हाते साङलो बनाएर प्रचण्डलाई हिंडाएका थिए । यस्तै सार्वजनिक सवारी साधनको आवतजावतमा रोक लगाइएको थियो । भ्रमण टोलीमा रहेका प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार प्रचण्डले भुजको भिमासार, आरटीओ, जी.के. जनरल हस्पिटल, र पुरानो बजार क्षेत्रमा भएका पुनर्निर्माणको अवलोकन गरेको बताए । 

भ्रमणपछि प्रचण्डले अवलोकन भ्रमणले नेपालको भूकम्पले क्षतिग्रस्त क्षेत्रमा पुर्ननिर्माणका योजना तर्जुमा गर्न सहयोग मिल्ने विश्वास आफूलाई भएको बताएको खकुरेलले जानकारी दिए । प्रचण्डलाई गुजरात राज्य विनास व्यवस्थापन समितिकी प्रमुख कार्यकारी अधिकृत अन्जु शर्मा र नेपालको बिनासकारी भूकम्पपछि गोरखाको वारपाक पुगेर अध्ययन गरेका माहात्मा गान्धी लेबर इष्टिच्यु गुजरातका महानिर्देशक डा. धिरुप पुंगाज, कज जिल्लाका प्रशासन प्रमुख र स्थानीय प्रशासनका पदाधिकारीले गुजरातमा भूकम्पले निम्त्याएको बिनास र पुनर्निर्माणबारे जानकारी गराएका थिए । 

त्यस क्रममा प्रचण्डको स्थानीय जनताले भव्य स्वागत गरे । पत्नि सीता र दुई सहयोगीका साथ गत २९ असारमा दिल्ली गएका प्रचण्ड सोमबार स्वदेश फर्कंदैछन् । भारत बसाइका क्रममा प्रचण्डले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज तथा विपक्षी दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

Categories
Tags

Related Posts

1 comments: