ढुंगामुढापछि काठमाडौं फर्किए प्रचण्ड
सिरहा, साउन ४ – सुझाव संकलनका लागि आफू निर्वाचित क्षेत्र सिरहा क्षेत्र नं. ५ पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड असुरक्षा बढेपछि सुझाव संकलन कार्यक्रम छोट्याएर राजधानी फर्किएका छन् । सुझाव संकलनमा पुगेका उनीमाथि सोमबार संविधानको मस्यौदाको विरोधमा रहेका मधेशी दल तथा नेकपा–माओवादी र मातृका माओवादीका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका थिए ।
प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले सुझाव संकलन सकाएर प्रचण्ड राजधानी फर्किएको जानकारी दिए । आन्दोलनकारीले सुझाव संकलनको लागि बनाइएको मञ्चसम्मै आउने गरी प्रचण्डमाथि ढुंगामुढा प्रहार गरेका थिए । असुरक्षा बढेपछि प्रहरीले चारैतिरबाट घेरा सुरक्षा दिएको थिए । प्रचण्डमाथि कार्यक्रमस्थल पुग्न अगावैदेखि विपक्षीहरुले कडा नारावाजी गर्दै कालो झण्डा देखाएका थिए । प्रदर्शनका क्रममा झडप हुँदा प्रहरी र प्रदर्शनकारी दुवै तर्फका घाइते भएका थिए ।
झडपमा मधेशी जनअधिकार फोरम नेपालका नेता तथा सभासद डा. वीरेन्द्र महतोसहित दुई दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनभन्दा बडी अश्रुग्याँस प्रहार गर्नु परेको थियो । प्रहरीले छोरेको अश्रुग्याुस घर–घरसम्म पुगेपछि स्थानीय वासिन्दा समेत आक्रेसित बनेका थिए । यसैबीच, प्रचण्डले समापन मन्तव्यको क्रममा सीमाङ्कन र नामाकंन सहितको संविधान जारी गर्नुपर्ने पक्षमा एमाओवादी रहेको बताएका छन् । ‘म पनि सीमाङ्कन र नामाकंन सहितको संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा छु, त्यसको लागि म निरन्तर प्रयासरत छु’, प्रचण्डले भने ।

No comments: