बाग्लुङ १ मा कांग्रेसको अग्रता, मत परिणाम आजै घोषणा हुने
बाग्लुङ, चैत्र २९ - बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा भएको संविधान सभा उपनिर्वाचनको मतगणना जारी छ । गणना बिहान ११ बजे सुरु भएको हो ।
यो समाचार तयार गर्दासम्म प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसकी चम्पादेवी खड्काले आग्रता लिइरहेकी छिन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसकीखड्काले ८ हजार ५ सय १५ मत प्राप्त गरेकी छिन ।
यस्तै एमालेकी मनकुमारी केसीले ७ हजार ४ सय ९२ मत प्राप्त गरेकी छिन भने एमाओवादीका कृष्णबहादुर केसीले एक हजार अठ्ठाइस मत प्राप्त गरेका छन् ।
पहिलो पटक गरिएको विद्युतीय मतदानमा ५२ हजार २ सय २ मतदाता मध्ये ३८ हजारले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने ७३ प्रतिशत मात्र मतदान भएको जानकारी दिए ।
बाग्लुङ नगरपालिकासहित १९ गाउँ विकास समितिका ७० मतदान केन्द्रमा मतदाताहरुले हिजो मतदान गरेका थिए ।
उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व. हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मनकुमारी केसी ,एमाओवादीबाट कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकीलगायत दश राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा छन् ।
नेकपा–माओवादी बैद्य समूह, विप्लव समूह र नेकपा एकीकृतले निर्वाचन बहिष्कार गरे पनि जिल्लामा कुनै घटना भने भएन ।
No comments: