पेरिसडाँडा बैठकमा आन्दोलन चर्काउनेबारे छलफल
काठमाडौं, चैत १७– एमाओवादीको उपलब्ध सभासद तथा केन्द्रीय सदस्यको बैठक आज बिहान बसेको छ । पार्टी कार्यालय कोटेश्वर पेरीसडाँडामा बसेको उक्त बैठकमा कसरी आन्दोलनलाई अघि बढाउने भन्ने विषयमा छलफल भएको वरिष्ठ नेता बाबुराम भट्टराईले जानकारी दिए । सत्तारुढ दलहरुले एकपक्षीय रुपमा संविधानसभाको बैठक बोलाउन लगाएर वार्ताको ढोका बन्द गरेकाले तत्काल पार्टीका सामु आन्दोलन चर्काउनुको विकल्प नभएकोबारेमा छलफल भएको भट्टराईको भनाई छ ।
छलफलमा अध्यक्ष प्रचण्डले लरतरो ढंगले कांग्रेस एमालेलाई धक्का दिन नसकिने तर्क गर्दै आन्दोलनलाई सशक्त ढंगले अघि बढाउनुको विकल्प नभएको बताएका थिए । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले सामान्य विरोध प्रदर्शन गरेका भरमा कांग्रेस र एमालेलाई धक्का दिन नसकिने बताएका थिए । उनले कांग्रेस र एमालेलाई जवाफ दिन सबै नेता र कार्यकर्ताहरुले आन्दोलनलाई सशक्त तुल्याउन भूमिका खेल्नुपर्ने समेत बताएका थिए । । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले चैत २३ गतेसम्मका लागि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि चैत २४ देखि २६ गतेसम्मको आमहड्ताल भने यथावत राखेको अवस्थामा एमाओवादीको बैठक बसेको हो ।

No comments: