हिलोमा चिप्लिदैं हेलम्बुतिर किन हानिए चिनियाँ कन्सुलर
काठमाडौं, चैत १७ — चिनियाँ दुतावासका कन्सुलर गोम्बोला गत आइतबार सिन्धुपाल्चोकको हेलम्बु पुगे । सडकमार्ग हुँदै सिन्धुपाल्चोकको हेलम्बु भेगमा पर्ने पाल्चोक गाविसको काज्ये पुगेका कन्सुलर गोम्बोला एक रात सिन्धुपाल्चोकमै बसेका थिए । सिन्धुपाल्चोक भ्रमणका क्रममा कन्सुलर गोम्बोलाले पाल्चोकको काज्येमा निर्माण भएको साङग छ्योलिङ गुम्बाको सोमबार उद्घाटन गरेका थिए । काज्येको गोरखनाथ गुठी अन्तर्गत संचालित सो गुम्बाको पुर्नःनिर्माणसँगै क्याब्जे गोन्जाङ छ्योगठुल रिन्पोछेले प्रतिस्थापन गरेका थिए । करिब २ करोड रुपैयाँको लागतमा निर्माण भएको सो गुम्बा उद्घाटनका लागि चिनियाँ राजदुत जाने भनिएपनि नेपालको राष्ट्रपतिको चीन भ्रमणका कारण कन्सुलर त्यहाँ पुगेका थिए । साङ् छ्योलिङ गुम्बा निर्माणका लागि विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग गरेका थिए । कला र संस्कृतिमा धनी मानिएका योल्मोलीहरुले विभिन्न साँस्कृतिक कला झाँकीहरु प्रस्तुत गरेर कन्सुलर र रिन्पोछेको स्वागत गरेका थिए । चिनियाँ दुतावासका कन्सुलर गोम्बोलालाई स्थानीयवासीहरुले मेलम्ची बजारदेखि हेलम्बुसम्मको बाटो पिच गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । बाटो पिच गर्ने बारेमा आफु सकारात्मक रहेको भन्दै कन्सुलर गोम्बोलाले ‘छलफलपछि जानकारी दिने’ भन्दै पानीले हिलाम्मे बनाएको कच्ची सडकमा चिप्लिदैं काठमाडौंतिर हानिए । ‘कच्चि बाटो पीच गर्ने बारेमा उनी सकारात्मक रहेको पायौं’ गुम्बा समितिका संयोजक दोर्जे लोपोन छेवाङ नोर्बुले भने ।
No comments: