विश्राम गृह यौन क्रिडास्थल
धनगढी - कैलालीको पर्यटकीय क्षेत्र चिसापानीमा ३६ लाखमा निर्मित पर्यटक विश्राम गृह र सूचना केन्द्रको भवन युवायुवतीको यौन क्रिडास्थल बनेको छ ।
चिसापानी बजार देखि उत्तरमा झण्डै आधा विगाहा क्षेत्रफलमा घेरवार गरी बनाइएको शौचालय र स्नानगृहसहितको विश्रामगृह प्रयोगविहीन भएको हो ।
सरकारले गठन गरेको चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रकमबाट कर्णाली नदीको छेउमा आर्थिक वर्ष २०६९÷७० मा पर्यटक विश्राम गृह र सूचना केन्द्रको भवन बनाइएको हो ।
‘घेरबार गरिएको यो विश्राम गृह अहिले घुम्न जाने युवायुवती र यौनकर्मीहरुको क्रिडास्थल भएको छ’ चिसापानी बजार ब्यवस्थापन समितिका पुर्व अध्यक्ष हर्कबहादुर रावलले भने ।
सरकारले मध्यपश्चिमका बाँके र बर्दिया तथा सुदरपश्चिका कैलाली र कञ्चनपुर गरी चार जिल्लाका पर्यटकीय क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि ६ वर्षदेखि चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति गठन गरेर रकम खर्च गर्दै आएको छ ।
तर, सुदूरपश्चिमका पर्यटन व्यवसायीहरुले त्यो समिति राजनीतिक भागबण्डाका आधारमा बन्ने भएकाले कार्यकर्ता पाल्ने काम मात्रै भएको आरोप लगाएका छन ।
चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले चिसापानीकै, चिसापानी पर्यटकीय समन्वय समितिमार्फत आर्थिक वर्ष २०६९÷७० मा पर्यटक विश्राम गृह तथा सूचना केन्द्रको निर्माण गरेको हो ।
आधा विगाहा क्षेत्रफलमा फैलिएको सो विश्राम गृह वरिपरी इँटाको पर्खाल लगाएर गेट नबनाइ अलपत्र छोडिएको छ । त्यतिबेला एमाओवादी निकटका जनक शाही अध्यक्ष रहेको चिसापानी पर्यटकीय समन्वय समितिले विश्राम गृहको निर्माण गरेको हो ।
‘अहिले त्यो प्रयोगमा पनि आएको छैन, त्यहाँ दिसापिसाव गरेर जान सकिने अवस्था छैन, विश्राम गृहको कोठाहरुमै दिसापिसाव गरिएको छ’, चिसापानीमा होटल ब्यवसाय गरिरहेका अमर बहादुर भण्डारीले भने, ‘यो त सरकारमा जानेहरुले कार्यकर्ता पोस्न गठन गरेको जस्तो देखिन्छ । चिसापानी क्षेत्र धेरैका लागि खाँने भाँडो बनाइएको छ ।’
जापनीज प्रविधिमा एक पिलरमामात्रै खडा गरिएको कर्णालीको पुल, ताजाताजा माछा पाउने र गर्मीको बेला चिसो हावा चल्ने भएकाले चिसापानीमा आन्तरिक तथा बाह्य पर्यटकको भिड हुँदै आएको छ । त्यो सँगैको जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीमा र्याफ्टिङको आनन्द लिन पर्यटकहरुको चिसापानीमा घुइँचो लाग्ने गर्दछ ।
‘पर्यटकहरुको घुइँचो देखेर नै, चिसापानीमा विश्राम गृह र त्यहाँबाट काँ जाने, कसरी जाने सूचना दिन सूचना केन्द्रको आवश्यकता महसुस पनि भएको हो’, चिसापानीका अर्का ब्यवसायी पदम भण्डारीले भने, ‘तर अहिले त्यो प्रयोगमा आउनुको साटो यौन व्यवसायीको क्रिडास्थल बनेको छ । चिसापानी क्षेत्र पर्यटन तथा प्रबर्द्दन समितिले निर्माणमा लागेको ३६ लाखको जनलेखापरीक्षण पनि गरिएको छैन ।’
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर कार्यक्षेत्र तोकिएपनि जहिले पनि अध्यक्षमा मध्यपश्चिमको ब्यक्ति मात्रै हुने भएकाले पनि सुदूरपश्चिमका पर्यटन ब्यवसायी असुन्तुष्ट छन ।
‘त्यो सुदूरपश्चिमको नाम बेचेर, कार्यकर्ता पाल्ने र रकम कुम्ल्याउने मेसो मात्रै हो’ कैलाली उद्योग वाणिज्य संघका पुर्वमहासचिव मोहनराज शर्माले भने, ‘सुदूरपश्चिमको पर्यटकीय विकासका लागि यो क्षेत्रका विज्ञहरु सम्मिलित अर्को समिति बन्नुपर्छ ।’
विश्राम गृह वरिपरी कण्डमका खाली खोल, बियर र रक्सीका बोत्तलहरु भरिएका छन । सिसाहरु फुटेर खुट्टा राख्ने ठाउँ छैन । विश्राम गृहमा ताला लगाइएको छैन ।
शौचालयमा पाइप जोडिएको छैन भने शौचालय र स्नानगृहमा प्लाष्टर गरिएको छैन ।
निर्माणमा संलग्न चिसापानी पर्यटकीय समन्वय समितिका अध्यक्ष जनक शाही बनको जग्गा भएकाले अलपत्र परेको प्रतिक्रिया दिए । बनको जग्गा भए निर्माण नै नगर्नु पर्ने स्थानमा भवन निर्माण गरी अलपत्र छोडिएकाले चिसापानीका बासिन्दा धेरै आक्रोशित छन ।
शाहले आफ्नो नेतृत्वको समुन्वय समितिले सबै हिसाव पारदर्शी गरेको दाबी गरेपनि, चिसापानीका बासिन्दाले त्यो समन्वय समितिलाई पर्यटन बोर्डले कालोसूचीमा राखेका छन् ।

No comments: